चैत ९, काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला एयसलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट अबिद सुल्तानकी पत्नी अफ्सना खनामको मृत्यु भएको छ । विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानमको शुक्रबार विहान बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा मृत्यु भएको बंगलादेशी सञ्चार माध्यम द डेली स्टारले जनाएको छ । अफ्सना शेर–ए–बंगला नागर नेशनल इन्ष्टिच्युट अफ न्यूरोसाइन्समा उपचाररत थिईन् ।


आज बिहानसम्म निरन्तर उनलाई बचाउने प्रयास गर्दा पनि नसकिएको उपचारमा सहभागी डा. बदरुल आलमले बताए । ‘हामीले सकेसम्म प्रयास गरेका थियौं तर उनको अवस्था दिनदिनै बिग्रँदै गएको थियो’ डा. आलमले भने ‘आज बिहान अचानक उनको मृत्यु भयो हामीले केही गर्न सकेनौं ।’ दुर्घटनाको खबरले अफ्सनालाई ब्रेन स्ट्रोक भएकोले उनलाई बंगलादेशको राजधानी ढाकाको शेर–ए–बंगला नागर नेशनल इन्ष्टिच्युट अफ न्यूरोसाइन्समा भर्ना गरिएको थियो ।

मुस्लिम धर्म अनुसार दाहसंस्कार गरिने उनको शव पति अबिदको चिहान नजिकै राखिने परिवारले जनाएको छ । पाइलट अविदले चलाएको जहाज फागुन २८ गते काठमाडौंमा दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ४९ जनाको मृतयु भएको थियो । मृत्यु हुनेमा २६ जना बंगलादेशी, १ चिनियाँ र १ जना माल्दिभ्सका नागरिक छन् । बाँकी २१ जना नेपाली रहेका थिए ।

पहिलो दिन पाइलट क्याप्टेन अबिद सुल्तान अस्पताल भर्ना भएको बताइए पनि भोलिपल्ट उनको मृत्यु भएको बताइएको थियो । अविद जिउँदै भएको खबर बाहिरिएपछि अफ्ना केही सम्हालिएकी थिइन् तर पछि उनको पनि मृत्यु भएको खबर आएपछि उनी पूर्ण रुपमा बेहोस भएकी थिईन् ।