Latest Updates :

नाती खेलाउँदै फर्कने रहरले अस्पताल पुगेकी आमाले जब छोरी र नाती दुवै गुमाइन् …

SHARE THIS POST :



काठमाडौं – सुत्केरी व्यथाले लागेकी छोरीलाई अस्पताल लगेपछि सकुसल नाती÷नातीना खेलाउँदै फर्कने ईच्छा थियो आमाको । गएको बुधबार रातीको ८ बजे एकैछिन नाती खेलाइन् पनि, तर त्यहाँबाट फर्कदा न नाती लिएर फर्किन पाइन् न सँगै लिएर गएकी छोरी नै । यी सबै सपना हो कि विपना छुट्याउन नसकेकी गुल्मी छापहिले–८ कि जाली महतारा पाँचदिनदेखि रुँदारुँदा अर्धचेत जस्तै भएकी छन् ।
महतराले गत बुधबार छोरी गीता महतारा श्रीसलाई सुरक्षित सुत्केरी गराउनका लागि पाल्पाको लुम्बिनी मेडिकल कलेज लगेकी थिइन् । बुधबार राती अस्पताल भर्ना गरेकी छोरीको पेटबाट अप्रेसन गरेर बच्चा निकालेपछि एकैछिनमा छोरीलाई बाहिर निकाल्छौँ नआत्तिनुस् भनेका डाक्टरहरुले छोरीको मृत शरीर बाहिर निकालेपछिको पीडाले उनीमात्रै होइन महतारा परिवारमा रुवावासी छ । छोरा र श्रीमति लिएर फर्कने आशमा कुरेर बसेका गीताका श्रीमान् हुम बहादुर एक सातादेखि खानु न पिउनु छन् ।
डेढ बर्ष अघि छापहिले–७ का हुम बहादुर श्रीससँग प्रेम बिबाह गरेकी गीतालाई गएको मंगलबार सुत्केरी व्यथा लागेको थियो । गाउँमा रातभरी व्यथा लागेपनि बच्चा नभएपछि अर्को बिहानै सदरमुकाम लगियो । वर्खाको बाटो ढिला र बाटैमा गाडी बिग्रेपछि उनलाई अस्पताल पु¥याउन झन् ढिला भयो । जिल्ला अस्पताल तम्घासले बच्चा अप्ठ्यारो परेको भन्दै भर्ना गरेको १५ मिनेटमै लुम्बिनी मेडिकल कलेज प्रवासमा रिफर ग¥यो ।
साँझ ६ बजेर ४७ मिनेटमा भर्ना गरिएको थियो । राती ८ बजेतिर जन्मिएको छोरा ११ बजे मृत घोषणा गरिएको गरी गीतालाई बिहान ५ बजेतिर मृत भन्दै लास निकाल्न दबाब दिएको परिवारले जनाएको छ । ‘हामीले भर्ना गर्नेबेला नै केही समस्या हुन्छ भने अन्यत्र लैजान्छौँ भनेको हो । तर, अलि ढिला गर्नुभयो केही हुँदैन भनेर भर्ना गरे’ गीताका काका गोपाल महताराले भने ‘तर चार घण्टा ज्यूँदै रहेको बच्चा मध्यरातमा मृत भन्दै निकाले, बिहान छोरीलाई मृत भने, के गर्नु नगर्नु हामी अल्लमल्ल प¥यौँ ।’

गीताका श्रीमान हुम बहादुर, आमा जाली र काका गोपालले गीतालाई अस्पताल लगेर गएका थिए । अस्पतालले राती ८ बजे छोरा जन्मिएपछि परिवारलाई दिएको थियो । बच्चा रोइरहेकोले आमालाई चाँडै ल्याउनुस् भनेपछि १५ मिनेट पर्खनुस् भन्दा भन्दै राती रगत धेरै बग्यो भनेको र बिहान मृत घोषणा गरेको मृतकका काका गोपालले दुःखेसो गरे । ‘बच्चा रोईरहेको छ खुवाउनु प¥यो भनेर आमालाई किन नकिकालेको त भनेर सोध्दा रोक्नुस् आइहाल्छ भन्यो, एकैछिन पछि ब्लड रोकिएन पाठेघर निकालेर फाल्नुप¥यो भनेपछि हुन्छ बरु पाठेघर फालेपनि छोरीलाई बचाइदिनुस् भन्यौँ’ उनले त्यो दिन संझदै भने ‘म भित्र भेट्न जाँदा अंकल भात खान्छु, पानी खान्छु भनेर छटपटाइरहेकी थिइन्, १५ मिनेट पछि ल्याउँछौँ भन्दा भन्दै बिहान त बचाउँन सकिएन भनेपछि हामी सबै बेहोस जस्तै भयौँ ।’
बैदेशिक रोजगारीमा जाने आउने काका, गाउँघरकी गृहिणी आमा र सामान्य परिवारका श्रीमान गीताको मृत्यूको पीडामा अताल्लिएपछि त्यो बेला कतै हार गुहार गर्न पाएनन् । सल्लाह सुझाव दिने पनि कोही भएन् । त्यसैको पीडाले उनीहरु अहिले पिरोलीएका छन् । ‘अप्रेसन गर्न भित्र लगेको मान्छे ठीक छ भन्दा भन्दै लास निकाल्दा हामी केही सोँच्न सकेनौँ, एकजना बहिनीलाई फोन गरेको भिनाजु डाक्टरलाई गालामा चड्कन लगाउनुस् भनेर त भन्छिन् तर आफूमा त्यो बेला आँट आएन’ गोपालले भने ‘तर, अस्पतालले ‘यो मृत्यूको प्रमाणपत्र लिएर जानुस् भन्यो ।’

छोरीको पीडा विर्षन नसकेकी आमा जाली महतारा अहिलेपनि रोएको रोयै छिन् । बेला बेला झस्केर सपनामा छोरीलाई देख्ने गरेको उनले रुँदै सुनाईन । ‘रुँद रुँदै सपनामा छोरी आउँछे, आमा मेरो पाठेघरको नसा काटेर रगत नरोकिएकोले म बाँचिन भन्छे’ भक्कानिँदै उनले गुनासो गरिन् ‘त्यस्ती छोरी लिएर गएकी थिएँ, अब म कसरी विर्षेर बसुँ ?’ उता डेढवर्ष अघि प्रेम विबाह गरेर गीतालाई भित्र्याएका श्रीमान हुम बहादुरको हालत पनि उस्तै छ । रोएरै साता गुजारेका छन् उनले ।

अस्पतालले भने गीतालाई अस्पताल पु¥याउन ढिला हुँदा फैलिएको पाठेघर खुम्चन नसकेर आमा र बे्रनमा समस्या भएर बच्चाको पनि मृत्यु भएको अस्पतालको भनाई छ । कलेजका निमित्त प्रमुख बुद्धी श्रेष्ठले आफूहरुले बचाउन ठूलो प्रयास गरेपनि नसकेको बताए ।

भात खान्छु, पानी खान्छु भनेकी थिइन् खुवाउन पाइएन : काका गोपाल
गएको मंगलबार एकरात जति बिमार लाग्यो । हेल्थपोष्टको डाक्टरले तम्घास लैजान भने । तम्घास जाँदा बाटोमा गाडी विग्रीएर ३ घण्टा ढिला भयो । जिल्ला असपत्तालमा १५ मिनेट राखेर बच्चाले पिसाब गरेको छ तुरुन्त पाल्पा लैजानुस, यहाँ सकिँदैन भने । एम्बुलेन्स खोजेर प्रभास लग्यौँ । ६ बजेर ४७ मिनेटमा लुम्बिनीले भर्ना ग¥यो ।
शुरुमा त अलि ढिला गर्नुभएछ । ठीकै छ, आमालाई चाहीँ बचाउँछौँ भनेर अप्रेसन गर्न लगे । सवा ८ बजे अप्रेसन राम्रो भयो भनेर बच्चा निकाल्यो र हामीलाई दियो । आमालाई किन नकिकालेको त भनेर सोध्दा रोक्नुस् आइहाल्छ भन्यो । बच्चा रोइरहेको छ खुवाउनु प¥यो भनेर हामीले आमालाई ल्याईदिनुस भन्यौँ । अनि १५ मिनेटपछि ल्याईदिन्छौँ भने ।
म के छ अवस्था भनेर हेर्न भित्र जाँदा भात खाने, पानी खाने भनेर छोरी छटपटाएकी थिइन् तर डाक्टरले खान मिल्दैन भनेपछि दिइएन ।
एकैछिन पछि बच्चा रोइरहे । केही खुवाउनुपर्छ भनेर भनेर नर्सहरुले लगे । रुँदा रुँदै बच्चा सुत्यो भनेर भने । तर धेरैबेर बच्चा नउठेपछि मैले उठाउन खोजेँ । स्वास नफेरेजस्तो लागेर नारी छाम्दा थिएन । अनि नर्स आएर लगेर गइ । अनि बच्चा त गयो भने ।
एकैछिन पछि फेरी बच्चाकी ममीको त ब्लड रोकिएन, पाठेघरको अप्रेसन फेरी गर्नुपर्छ भन्यो । अनि फेरी पाठेघर निकालेर फाल्नुपर्छ भन्यो । हामले ठीकै छ बरु, आमाको ज्यान बचाईदिनुस् पाठेघर फालेपनि भन्यौँ । ब्लड चाहियो भन्यो, ब्लड किनेर दियौँ । रातभरी हामी आत्तियौँ । भाउजु ( मृतककी आमा) र ज्वाईँ (श्रीमान) रोईरहनु भएको थियो । अप्रेसन गर्यो कि गरेन, त्यो बेलामा हामीलाई थाहा भएन तर बिहान पाँच बजे अप्रेसन नै सफल गराउन सकेनौँ । होस नै खुलाउन सकेनौँ भन्दै आए । ज्वाइँ पनि बेहोस हुनुभयो । हामी सबै बेहोस जस्तै भयोँ । कतै कसैले केही सल्लाह पनि दिएन । ‘अप्रेसन गर्न भित्र लगेको मान्छे ठीक छ भन्दा भन्दै लास निकाल्दा हामी केही सोँच्न सकेनौँ, एकजना बहिनीलाई फोन गरेको भिनाजु डाक्टरलाई गालामा चड्कन लगाउनुस भनेर त भन्छिन् तर आफूमा त्यो बेला त्यो आँट आएन तर अस्पतालसंग विरामी भर्नाको कागजात कहाँ लिने भनेर एकाउण्टमा सोधेको तपाइँको यो सर्टिफिकेट लैजानुस् अरु मिल्दैन भन्यो । मृत्युको सर्टिफिकट दियो ।

हाम्रो खर्चको हिसाबकिताब गरेन । आउँदा जाँदा चालिस पचास हजार खर्च भएको छ । सक्दैनौँ भनेको भए अन्त लैजान्छौँ पनि भएको हो । अन्त लैजान पर्दैन । अप्रेसन गर्नुपर्छ । कण्डिसन त राम्रै छ । ढिला चाहिँ ढिला गर्नुभयो भनेका थिए । तर अहिले यस्तो भयो । हामी त अन्यायमा प¥यौँ । म पनि विदेशबाट आएको मान्छे केही जानिन । अहिले पछुतो लाग्छ । लास नै निकालिसकेपछि कसरी न्याय पाइएला ?

सञ्चै राम्री छोरी लगेका थियौँ, अस्पतालले खायो : आमा जाली महतारा
प्रवास अस्पतालमा डाक्टरले भित्र लगेपछि बच्चा निकाल्यो । म बाहिर बसेकी थिएँ । ज्वाइँ र देवर ढोकाका मुखमा बस्नुभएको थियो । बच्चा निकालेर दिनुभयो । कपडा किनेर देवरले लगाइदिनुभयो । बच्चाले दुध पनि खायो । पछि किक्लीक किल्लीक गरेपछि के भयो भनेर डाक्टरलाई सोध्यौँ । यस्तै हो बच्चा खुवाउनुस् सुताउनुस भन्यो । अनि फेरि के भयो भन्दै लग्यो । एकैछिन पछि बच्चा गयो भनेर भन्छन् । रोयौँ ।
राती फेरी ब्लड नै बन्द भएन भन्यो । हाम्रो बिरामीलाई बाहिर निकाल्दिनुस भन्दा, पन्ध्र मिनेट भन्दै रोक्दै ग¥यो । पछि पख पाठेघर फाल्न पर्छ भन्यो । देवरसँग पानी भात खान्छु अंकल भनेकी थिई रे तर खुवाउन पाएनौँ । सञ्चै राम्री छोरी लगेका हौँ, अस्पताल भित्र गएपछि त मैले अनुहारै देख्न पाईन । कसैले एकपटक लास ननिकाल भनेको भए पनि निकाल्ने थिएनौँ । रुँदै…..रुँदा रुँदै सपनामा छोरी आउँछे, आमा मेरो पाठेघरको नसा काटेर रगत नरोकिएकोले म बाँचिन भन्छे, त्यस्ती छोरी लिएर गएकी थिएँ, अब म कसरी विर्षेर बसुँ ?

बँचाउन सकेनौँ : निमित्त प्रमुख श्रेष्ठ

म बुद्धि श्रेष्ठ, गाईनोक्लोजिष्ट, निमित्त चिफ ।
मेरै टिमले गरेको हो उहाँको अप्रेसन । शुरुमा त्यहीँको स्वास्थ्यचौकीमा बस्नुभएको रहेछ । १२÷१४ घण्टा हेरेपछि तम्घास पठाउनुभएछ । फेरी तम्घासमा पनि १ घण्टा राखेर यहाँ हाम्रो एकजना डक्टरलाई फोन गरेर यस्तो केसको विरामी पठाउँदै छौँ भनेर भन्नुभएको रहेछ । अनि यहाँ आउनुभयो ।
बच्चा र आमाको साइज नमिल्ने अवस्थामा समयमै बच्चा नजन्मदा धेरै जोखिम हुन्छ । त्यो बेला अप्रेसन गर्नुपर्छ । त्यो अवस्थामा पाठेघर नखुम्चिने सम्भावना बढी हुन्छ । अप्रेसनको समयमा पनि एकदम ब्लिडिङ हुने सम्भावना हुन्छ । उहाँको चाहीँ बच्चा निकालिसकेपछि ब्लिडिङ भयो, बीचमा अलिअलि स्थिर थियो । फेरी पछि मलाई फेरी फोन आयो ब्लिडिङ भैरह्यो भनेर । त्यो बेला सबै रक्तनलीहरु बन्द गरेर ब्लिडिङ्ग रोक्ने नै हो, म र मेरो टिमले फेरी सबै रक्तनली बन्द प्रयास ग¥यौँ । उहाँहरु तीनजना मात्र आउनुभएको, ब्लड ग्रुप पनि नमिल्ने । यहीँबाट स्टुडण्डलाई भनेर पाँचपोका ब्लड दियौँ । तर म्यासिभ्ली प्रयास गर्दा गर्दै पनि हामीले बचाउन सकेनौँ । नेपालमा पहिला पहिला त धेरै जना नै यस्तो हुन्थ्यो । रगत बगेपछि यो अवस्थामा धेरै यस्तो हुन्थ्यो । हामी सक्दो प्रयास गरेका हौँ ।
बच्चाको सन्दर्भमा सयममा बच्चा जन्मन नसकेपछि बच्चाको ब्रेन ईन्जुरी हुन सक्छ, उहाँको बच्चालाई पनि त्यो भएको शंका थियो तर ईमिडेट क्राई त राम्रो थियो र हामीले ठीकै होला भन्यौँ । तर पछि के भयो बच्चाको पनि डेथ भयो । पोष्टमार्टम गरेको भए के हो भनेर थाहा हुने थियो, तर नेपालमा त्यही त हो तपाइँलाई थाहै छ नि ।
कागजात दिने विषयमा हामीले कहिँ विरामीलाई रिफर गर्ने हो भने हामी सबै कागजात दिन्छौँ तर मृत्यु भइसकेको सन्दर्भमा डेथ सर्टिफिकट दिन्छौँ । हामीले ७२ घण्टाभित्र सबै विवरण स्वास्थ्य मन्त्रालय पठाउनु पर्छ, सबै कागजात पठाइसक्यौँ ।


SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger