काठमाण्डौ – शनिबारदेखि सरकारले देशैभरी सस्तो मूल्यमा उपभोग्य सामाग्री उपलब्ध गराउने भएको छ । साल्ट ट्रेडिङ्ग, नेसनल ट्रेडिङ्ग, खाद्य संस्थान, दुग्ध विकास संस्थान र जिल्ला प्रशासन कार्यालय संगको समन्वयमा सरकारले देशैभरी सस्तो सामान उपलब्ध गराउने भएको हो ।
केही ठाउँमा आफै सुपथ मूल्य पसल सञ्चालन गर्ने अनि जिल्ला प्रशासन कार्यालयले माग गरेमा देशैभरी सस्तोमा सामान उपलब्ध गराउने आपूर्ति मन्त्रालयले जनाएको छ । ‘उपत्यकाका ११ स्थान र बाहिरका २५ स्थानमा साल्ट ट्रेडिङ्गका विक्री स्थलमा आफै सुपथमूल्य पसल सञ्चालन हुने छन्’, मन्त्रालयका प्रवक्ता आनन्दप्रसाद रेग्मीले भने ‘जिल्ला प्रशासन कार्यालयहरुले सस्तो पसल सञ्चालन गरेर माग गरेमा सबै जिल्लामा सस्तो मूल्यमा सामान उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको छ ।’
sasto-pasal
विगतमा मन्त्रीपरीषदले निर्णय ढिला गर्ने कारण समस्या हुने भएपनि यसपटक मन्त्रीपरिषद्ले चाँडो निर्णय गरेकोले राम्रो तयारी गर्न पाएको उनले बताए । ईन्धनको मूल्य घटको कारण पनि विगतजस्तो महंगो यो वर्ष नहुने रेग्मीको भनाई छ । ‘छुटको बहार नै ल्याउन खोजेका छौँ’ उनले भने ‘त्यसका लागि ईन्धनको मूल्य नै घटेका र यसपटक परीषद्को निर्णय पनि समयमै भएकोले राम्रो तयारी गर्न पाईएको छ ।’
साल्ट टे«ेडिङ्ग कर्पोरेसनका अनुसार साल्टका अञ्चल कार्यालयहरुमा राखिएको सामान जिल्ला प्रशासन कार्यालयले माग गर्नेवित्तीकै उपलब्ध गराउने व्यवस्था गरीएको छ । ‘नुन, चिनी सहित हाम्रो आफ्नै उत्पादन मैदा, सुजी, दाल तेल हामीले सस्तो मुल्यमा उपलब्ध गराउने व्यवस्था गरको छौँ’, साल्ट ट्रेडिङ्गका विभागीय प्रवन्धक शिवहरी तिवारीले भने ।
कुन–कुन सामान कुन जिल्लामा कति हुन्छ छुट ?
उपभोग्य वस्तुमा हुने छुट सरकारी सस्तो पसल र व्यापारीले दिने छुट फरक फरक हुने छ । सरकारले आफै साल्ट ट्रेडिङ्गका उत्पादनमा १० देखि १५ प्रतिशत सम्म छुट दिने व्यवस्था गरेको छ भने व्यापारीहरले पनि छुटटै छुट दिने गरी सहमति भएको छ । साल्टले नुन, चिनी, मैदा, सुजी, दाल र सोयाविन तेलमा छुट दिईने छ । ति सामानमा जिल्ला अनुसार छुट दिईने छ ।
सरकारले दिने छुटको मोल भने जिल्ला अनुसार फरक–फरक हुने छ । राजधानीको ११ स्थानमा सरकारले आफै सञ्चालन गर्ने पसलमा सबैभन्दा सस्तो हुनेछ । त्यसपछि साल्ट ट्रेडिङ्गको शाखा र उपशाखा कार्यालय रहेका विभीन्न २५ जिल्लाका पसलमा पनि छुट हुने छ । साल्टले नुन, चिनी, मैदा, सुजी, दाल र सोयाविन तेलमा, नेसनल ट्रेडिङले विद्युतीय सामान, मेसिनेरी पार्टपुर्जा र खाद्य संस्थानले चामल र गहुँ उपलब्ध गराउनेछ ।
सरकारले सञ्चालन गर्ने पसलहरुमा नुन १६ रुपैयाँ र चिनी ७९ रुपैयाँमा विक्री गर्ने व्यवस्था गरेको छ । त्यो बाहेक मैदा, सुजी, दाल र सोयाविन तेलमा १० देखि १५ प्रतिशतसम्म छुट दिने गरी व्यवस्था मिलाईएको छ । संस्थानले १५ थरीका चामल, फापर र सिमीमा प्रतिकिलो ५ रुपैयाँँ छुट दिनेछ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो १० रुपैयाँ छुट दिनेछ । त्यसका लागि शुक्रबार बिहान बैठक बसेर कुन समानमा कति छुट भन्ने निर्धारण हुन्छ’ तिवारीले भने ।
त्यो बाहेक दुर्गमका २२ जिल्लामा नुनमा छुट दिने व्यवस्था गरेको छ । ‘त्यहाँ ९ रुपैयाँमा नुन दिने व्यवस्था गरेका छौँ’ तिवारीले भने ‘चिनीको माग भयो भने त्यहाँ चिनी पनि पठाउँछौँ ।’ चाडपर्वकै लागि मन्त्रालयले इन्धनको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाइसकेको छ । हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँँ छ ।
खुद्रा व्यापारीले पनि सरकारको सामान किनेर सस्तोमा दिने
उपत्यकाका खुद्रा व्यापारीले पनि सरकारले उपलब्ध गराउने सस्तो सामान किनेर सस्तो मूल्यमै विक्री गर्ने भएका छन् । खुद्रा व्यापार संघले काठमाडौं उपत्यकमा विभिन्न पसलमा सरकारको सामान किनेर छुटमा किन्न सहमति जनाएका छन् ।
‘५ हजार बोरा चिनी, तीन हजार बोरा नुन र एक लाख लिटर भटमासको तेल उहाँहरुले खरीद गरेर विक्री गर्ने सहमति भएको छ’ तिवारीले भने ‘संघले तोकेका हरेक पसलमा पुग्ने गरी खुद्रा व्यापारीलाई साल्ट ट्रेडिङ्गले सामान उपलब्ध गराउने छ ।’
उक्त सामाग्री महंगोमा विक्री नगरुन भन्नका लागि अनुगमनको व्यवस्था गरीएको आपूर्ति मन्त्रालयका प्रवक्ता रेग्मीले बताए ।
आपूर्ति मन्त्रालयमा बुधबार खुद्रा व्यापार संघसंग भएको छलफल अनुसार नुनमा ५ रुपैयाँ चिनीमा ५ रुपैयाँ, खाने तेलमा १० रुपैयाँ र दालमा १० रुपैयाँ छुट दिने सहमति गरेका छन् । सोयाबिन तेल प्रतिलिटर १ सय १० रुपैयाँ, ८५ रुपैयाँ पर्ने चिनी ८० रुपैयाँ र १८ रुपैयाँ पर्ने नुन १६ रुपैयाँमा विक्री गर्न उनीहरु सहमत भएका छन् । भाटभटेनी सुपर मार्केटले २ सय ४० प्रकारको खाद्यान्नमा करिब १५ प्रतिशत छुट दिने समझदारी गरेको आपूर्तिमन्त्री दिपक बोहोराले रातोपाटीसंग बताए ।
सस्तो पसल कहाँ–कहाँ ?
सिँहदरबार भित्रै पनि सस्तो पसल सञ्चालन गर्न लागेका सरकारले उपत्यकाका ११ जिल्ला र बाहिर साल्ट ट्रेडिङ्गका शाखा कार्यालयहरुमा पनि सस्तो पसल सञ्चालन हुने छ । उपत्यकाको बनेपा, भक्तपुर, जाउलाखेल, सतुंगल, कालिमाटीमा २ वटा, खाद्य संस्थान थापाथली, नेसनल ट्रेडिङ्ग टेकु, नेसनल ट्रेडिङ्ग सिंहदरबार पसल सञ्चालन हुने छ ।
त्यसैगरी उपत्यका बाहिर विर्तामोड, विरानटनर, राजवि, लाहान, जनकपुर, विरगंग, हटौडा, नारायण, पोखरा, बाग्लुंग, भैरहवा, कृष्णनगर, दाडड, सुर्खेत, नेपालगंज, टिकापुर, धनगडी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिसुली, बैतडी, अछाम, बाजुरा, बझाङ्गमा सस्तो पसल सञ्चालन हुने छ । उपत्यका बाहिरका ति जिल्लामा साल्ट ट्रेडिङ्गका कार्यालयहरु छन् । यो बाहेक भुकम्प प्रभावित जिल्लाहरुमा पनि कसरी छुट दिने भन्ने विषयमा छलफल भैरहेको प्रवक्ता रेग्मीले बताए ।
यो बाहेक तीनबटा मोवाईल भ्यानहरुबाट पनि सामान पु¥याउने व्यवस्था गरीएको छ । उपत्यका र जिल्लाको लागि फरक फरक छुटको ब्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ । ‘अहिले मन्त्रीपरीषदले निर्णय गरको भन्दा पनि धेरै छुट दिने गरी तयारी गरेका छौँ’ आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दप्रसाद रेग्मीले भने ‘त्यसका लागि खुद्रा व्यवासायी र सुपरस्टोरहरुमा पनि कुराकानी भैरहेको छ ।’ उनका अनुसार खुद्रा व्यवसायीले दँशै तिहारमा छुट दिन सहमत भएका छन् । त्यसका लागि छुट दिन सक्ने सामान र त्यसको मूल्य लिखित रुपमा माग गरिएको उनले बताए ।