लन्डनमा व्यापक खोजी गरिएका कुख्यात लुटेराहरुको सूचीमा नेपाली पनि परेका छन् । स्कटल्याण्ड यार्डले सोमबार सार्वजनिक गरेको एक दर्जन लुटेराहरुको सूचीमा २६ वर्षीय नेपाली सुमन श्रेष्ठ परेका हुन् ।
बेलायती अखवार गार्डियनले जनाए अनुसार, सुमनले लन्डन हन्स्लोमा तीनवटा लुटपाट गरेको र सन् २०१० को सेप्टेम्बरदेखि नोभेम्बरभित्र दुई लुटपाट प्रयास गरेको आरोपमा खोजी गरिएका छन् । स्टकल्याण्ड यार्डले थालेको एन्टी बरग्लरी अपरेसन बम्बल बी अन्तर्गत व्यापक खोजिएका दर्जन लुटेरा आरोपीको तस्विर सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएका लुटेरामा कोही त दश हजार पाउण्ड मुल्य बराबरको सुन लुट्ने पनि छन् ।
आसन्न क्रिसमस र नयां वर्ष पर्वका अवसरमा झन् बढि लुटपाट हुने चिन्ताबीचप्रहरीले बनाएको विशेषज्ञहरुको टोलीले अहिले बेलायती राजधानीभर व्यापक खोजी गरिरहेको जनाइएको छ । प्रहरी तथ्यांक अनुसार, पछिल्लो केही महिनायतामात्र घर प्रवेश गरेर लुटपाट गर्ने क्रम २५ प्रतिशतले वृद्धि भएको छ ।