नक्कली पासपोर्टको करामत: विदेशबाट फर्किएँ, आफ्नै देशमा थुनिएँ... पासपोर्ट नभएका नेपालीहरू विदेशबाट कसरी फर्कने ?.........भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....
नक्कली पासपोर्टका कारण पक्राउ परेकाहरु
१५ माघ, काठमाडौं । उत्तरी धादिङ री गाविसका लालमान तामाङ, शर्मा तामाङ, रादबहादुर तामाङ र जयलाल तामाङ आठ महिनाअघि मलेसिया गएका थिए, रोजगारीका लागि । चारैजना काठमाडौं बालुवाटारस्थित जिनित म्यानपावरमार्फत मलेसिया पुगेका थिए ।
‘एक हजार ५० रिंगेट तलब दिने भनिएको थियो,’ जयलाल तामाङ भन्छन्, ‘मलेसिया पुगेलगत्तै काममा पनि लाग्यौँ । हाम्रो पासपोर्ट कम्पनी मालिकले लग्यो । काम गरेको महिना दिन बित्यो, तर तलब पाइएन । दुई महिनापछि बल्ल एक महिनाको तलब दियो, तर भने जति दिएन, नौ सय रिंगेट मात्रै दियो ।’
आठ महिना जसोतसो बिताएपछि चारैजना स्वदेश र्फकने निर्णयमा पुगे । तर, उनीहरुसँग न पासपोर्ट थियो, न त साथ दिने कोही ।
चारैजना गत २८ डिसेम्बरमा मलेसियास्थित नेपाली दूतावास पुगे । तर, दूतावास बन्द थियो, दूतावासका कर्मचारी भेटिएनन् । दूतावासबाहिर भने एक भारतीय भेटिए । ती भारतीयले दूतावास तीन महिना बन्द हुने र नेपाल जाने भए आफूले सहयोग गर्ने बताए । यसका लागि उनले प्रतिव्यक्ति तीन हजार रिंगेट अर्थात् करिब ८० हजार रुपैयाँ माग गरे ।
चारैजनाले घरमा फोन गरेर पासपोर्ट बनाउने पैसा पठाई दिन भने । आफन्तले गाउँबाट चारजनाका लागि आवश्यक एक लाख ८२ हजार रुपैयाँ पठाइदिए ।
त्यति बेलासम्म चारै पीडितलाई भारतीय नागरिकले आफ्नो चिनजानका मान्छेको कोठामा लगेर राखेका थिए । ५ माघमा सबै तयारी सकिएको भन्दै भारतीय नागरिकले चारैजनालाई एयरपोर्ट लिएर गए ।
मलेसियन एयरपोर्टमै सेटिङ
एयरपोर्ट पुग्दासम्म चारैजनाको हातमा टिकट थियो, पासपोर्ट थिएन । एयरपोर्टमा चेकिङ भयो, तर केही गरेन । लालबहादुर तामाङ भन्छन्, ‘त्यो भारतीयको त एयरपोर्टमै सेटिङ रहेछ, उसले विमान चढ्ने बेला मात्रै पासपोर्ट दियो ।’
उनीहरु ५ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए । तर, अध्यागमनको चेकिङमा उनीहरूले बोकेको पासपोर्ट नक्कली देखियो र पक्राउ परे । अनि मात्र उनीहरुले आफू ठगिएको थाहा पाए ।
चारैजना अहिले नक्कली राहदानी बोकेको आरोपमा अध्यागमन विभागको कस्टडीमा छन् । उनीहरू भन्छन्, ‘हामीलाई भाग्यले ठग्यो ।’
प्रभावहीन दूतावास
यो घटनाले मलेसियामा नेपालीले भोगिरहेको कष्ट मात्रै स्पष्ट पार्दैन, नेपाली दूतावासको आँखाअगाडि नै नेपाली कसरी ठगिन्छन् भन्ने चित्र समेत देखाउँछ ।
अहिले १२ जना मलेसियाबाट फर्किएकाहरु अध्यागमन विभागको कस्टडीमा छन्, सबैको कथा उस्तै छ, पासपोर्ट छैन ।
‘अर्काको देशमा दुःख पाएर आफ्नो दूतावासको सहयोग माग्न जाँदा दूतावास बन्द छ भन्ने खबर दिन्छन्, त्यस्तो ठाउँमा नेपाली ठगिनुबाहेक के हुन्छ,’ थुनामा रहेका एक पीडितले गुनासो गरे ।
पासपोर्ट नभएका नेपाली कसरी फर्कने ?
वैदेशिक रोजगारका लागि खाडी मुलुक पुगेर तोकिएबमोजिमको काम नपाएपछि कतिपय स्वदेश र्फकन खोज्छन् । तर, तिनीहरूमध्ये अधिकांशको पासपोर्ट साहुको हातमा पुगिसकेको हुन्छ र सहजै र्फकन सक्दैनन् । त्यस्तै, दुःखमा परेको नेपालीलाई स्वदेश फर्काइदिने बहानामा ठगी गर्ने गिरोह पनि तिनै खाडी मुलुकमा सक्रिय छन् ।
खाडी मुलुकमा पुगेका र पासपोर्ट नभएर स्वेदश फर्किन नपाएका नेपालीलाई आफ्नो सम्पर्कमा आए नेपाली दूतावासले स्वदेश र्फकन एकतर्फी यात्राका कागजात बनाइदिने गरेको छ । तर, यसबारे थाहा नपाउँदा नेपालीहरू ठगिने गरेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने बताउँछन् । न्यौपाने भन्छन्, ‘आवश्यक परामर्शको अभावका कारण वैदेशिक रोजगारीमा जाने नेपालीले दुःख पाइरहेका छन् । अहिले खाडी मलुकमा नेपालीलाई नक्कली पासपोर्ट बेच्ने गिरोहको खोजी हुँदै छ ।’
विभागकै एक अधिकृतका अनुसार कतिपय देशमा रहेका नेपाली दूतावासको गैरजिम्मेवारीपनका कारण नेपालीले दुःख पाउने गरेका छन् भने कतिपय दूतावास नपुग्दै ठगहरूको चंगुलमा फस्ने गरेका छन् ।
लेबल:
News


