Latest Updates :

कोरियनसँग विवाह गरेर आएकी एक नेपाली चेलीको एक सनसनीपूर्ण अनुरोध सक्दो शेयर गरौ !.....भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

SHARE THIS POST :

सोल- घ्यङसाङनाम्दो हाम्याङ गाउँ, जहाँ ४० भन्दा बढी नेपाली चेलीहरुहरुको सहयोगी बनेकी छिन् यजिन गुरुङ । भाषाको कठिनाइले विभिन्न समस्यामा परेका दिदीबहिनीहरुको सेवामा हरदम खटिरहने यजिन दश वर्ष अघि आफुले भोगेको समस्या अरुले भोग्न नपरोस् भनेर कोरियन भाषा अनुवादकका रुपमा जतिबेला पनि लागिरहेकी हुन्छिन् ।


‘म भर्खर कोरिया आउँदा भाषा अनुवाद गरिदिने कोही थिएनन् । भाषाको कठिनाइले सुरुमा धेरै गाह्रो भयो । त्यो बेला आफुले भोगेको समस्या अहिले अरुले भोग्न नपरोस् भनेर म सकेसम्म भाषा अनुबाद गरिदिने अनि उनीहरुको समस्यालाई जसरी हुन्छ समाधान गरिदिने पहल गर्दै आएको छु’, उनी आफ्नो कामको बेलीबिस्तार लगाउँछिन् ।

समस्यामा परेकालाई सहयोग गर्न पाउँदा मनदेखि नै आनन्दित हुने यजिन विगत छ वर्षदेखि हाम्याङमा भएको सरकारी निकायद्धारा संचालित बहुसाँस्कृतिक परिवार सहायता केन्द्रमा कार्यरत छिन् । उनी यस केन्द्रबाट विभिन्न समस्यामा परेका नेपाली दिदीबहिनीहरुको समस्या समाधान गर्ने, भाषा अनुबाद गर्ने तथा कोरियाको नागरिकता लिन अनि आफ्नो बाबुआमालाई कोरियामा घुम्न बोलाउदा चाहिने कागजपत्र र प्रकृयाबारेमा जानकारी दिने जस्ता कामहरु गर्ने गर्छिन् ।

त्यस्तै भाषाको कारणले घरपरिवारमा झगडा परेर वा अन्यायमा परेका दिदीबहिनीहरुलाई न्याय दिलाउने पहल गर्छिन् । त्यसो त उनी विवाह गरेर आएका दिदीबहिनीहरुको लागि मात्र खटदिनन् इपिएस भिषामा आएर भाषाको समस्यामा परेका नेपालीहरुको सेवामा समेत लाग्दै आएकी छिन् । त्यस्तै दानुरी कल सेन्टरबाट पनि भाषा अनुवादको लागि फोनबाट नै परामर्श दिने गर्छिन् ।

भाषाको समस्या हुँदा कसैले दोभासेको रुपमा काम गर्नु पनि एउटा ठुलै समाजसेवा हो उनको विचारमा । पैसा दिएर मात्र सहयोग हुने होइन । ‘फरक भाषा, फरक संस्कति र फरक जीवनशैली भएको प्रवासी भूमिमा एउटा नेपालीले अर्को नेपालीलाई सहयोग गर्नु नै ठुलो कुरा हो’, उनी अगाडि भन्छिन्, ‘हामी नेपालीको बानी लिन मात्र खोज्छौं । अब हामीले लिन होइन दिन पनि सिकौं अनि, केही गरौं भन्ने मेरो सोच हो ।’

धामुन्ह्वा सेन्टरमार्फत् नेपाललाई कोरियामा चिनाउने खालका कार्यक्रमहरु समेत गर्दै आएकी गुरुङ अन्य नेपाली चेलीहरुलाई एकवद्ध गरि नेपालको कला र संस्कृतिलाई प्रचारप्रसार गर्ने काममा समेत अग्रसर छिन् । उनी कुशल नृत्यङगना पनि हुन् । नेपाली भेषभूषामा सजिएर नृत्यकलामार्फत् नेपाली संस्कृतिलाई कोरियामा चिनाउदै आएकी यजिन भन्छिन्, ‘हामीले जानेको र सकेको आआफ्नो ठाउँबाट गर्ने हो । हामीले जति राम्रो काम गर्छौं त्यति नै इज्जत बढ्छ आफ्नो जन्मभूमिको ।’

नेपालको पर्यटकीय नगरी पोखराबाट २००६ सालमा कोरियन नागरिकसँग विवाह गरेर आएकी यजिन आमाले हेरिदिएको केटासँग विहे गरेर आएकी हुन् । आमाको चाहना छोरीले विकसित मुलुकमा विहे गरेर केही गरोस् भन्ने थियो । तिनै आमाको सपनालाई उनले साकार पार्दैछिन् अहिले । मेहेनत गरेर अगाडि बढे कोरियामा विहे गरेर आउने विदेशी महिलाहरुको लागि राम्रो अवसर रहेको बताउँदै यजिन भन्छिन्, ‘धामुन्ह्वा परिवारलाई कोरियन सरकारले धेरै राम्रा सुविधा र अवसरहरु उपलब्ध गराएको छ । तर, हामीले मेहेनत गरेर यो अवसरलाई लिन सक्नुपर्छ ।’

नेपालमा स्नातक पढने तयारी गर्दागर्दै विवाह गरेर कोरिया आएकी यजिनले कोरियामा आफ्नो अध्ययनलाई पुरा गरेर कोरियाको सरकारी निकाय अन्तर्गत उच्च ओहोदामा पुग्ने सपना साँचेकी छिन् । हाल आफ्नो कार्यसँगै समाजकल्याण परिषद अन्तर्गत सामाजिक कार्यका लागि ‘साहेपोक्चीसा’ को दुईवर्षे कोर्ष गरिरहेकी उनी विवाह गरेर आएका दिदीबहिनीलाई श्रीमानको भरमा मात्र नपरी आफुले पनि केही गर्ने सल्लाह दिन्छिन् । भन्छिन्, ‘घरपरिवार र बालबच्चा हुर्काउदै भएपनि आफुले सक्ने काम गरेर आत्मनिर्भर हुनुपर्छ ।’

श्रीमानको हौसला र प्रेरणाले नै अध्ययन र सामाजिक कार्यमा लाग्न सजिलो भएको बताउदै उनी थप्छिन्, ‘आफुमा पनि गर्न सक्छु भन्ने हिम्मत र मेहनत हुनुपर्छ । भाषा जानेर केही गर्छु भन्ने सोच लिएर अघि बढ्यो भने अवसरका ढोकाहरु प्रसस्तै छन् कोरियामा ।’

कोरियाली नागरिकसँग बिहे गरेका नेपाली चेलीहरुको विषयमा नेपाली मिडियाले लेख्ने गरेको नकारात्मक समाचारले उनलाई दुःखी मात्र होइन लज्जास्पद नै बनाउँछ कहिलेकाँही । ‘गरिव र अपाङगले मात्र विहे गर्छन् भन्ने समाचारमा आउँछ यो सरासर गलत हो,’ उनी खण्डन गर्दै भन्छिन्, ‘कोरियनसँग बिहे गर्ने सबैले दुःख पाएका छैनन् । कतिले आफ्नै कारणले दुःख पाएका छन् भने कतिका श्रीमान खराब पनि छन् । तर दुई चारजनाले दुःख पाए भन्दैमा सबैलाई एउटै नजरले हेर्नु राम्रो होइन ।’

सुखी दाम्पत्य जीवन बिताउने नेपाली दिदीबहिनीहरु पनि प्रसस्तै रहेको बताउदै यजिन भन्छिन्, ‘राम्ररी घरजम गरेर बस्छु भन्ने सोचले विवाह गरेर आउने दिदीबहिनीहरुको भविष्य राम्रो छ कोरियामा ।’

भाषाको समस्या, फरक संस्कृति र संस्कारमा एकैचोटी पर्दा सुरुमा गाह्रो त हुन्छ नै । तर, लोग्नेको कमाइमा मोजमस्ती गर्दै परपुरुषसँग लाग्ने महिलाहरु पनि नभएका होइनन् । यस्ता महिलाहरुले गर्दा पनि नेपाली समाजमा विकृति फैलिएको उनको ठहर छ । हुनत त श्रीमान र श्रीमतीबिच उमेरमा धेरै अन्तर भएको कारणले पनि विचारमा अन्तर भएर कुरा नमिल्नु स्वभाविक हो । यद्यपि कसैलाई मन पराउनु वा माया गर्नु पाप होइन तर आज एउटासँग भोली अर्कोसँग हिड्नु राम्रो होइन उनको बुझाइमा । कोरियनसँग विवाह गरेर आउन चाहनेहरुलाई कोरियामा पैसा कमाउने सोचले मात्र होइन राम्रो घरजम गरेर बस्छु मेहेनत गर्छु भन्ने सोचाइ लिएर मात्र विवाह गरेर आउन सल्लाह दिदै भन्छिन्, ‘कोरिया आउनु अघि भाषा, संस्कृति र कोरियाको जीवनशैलीबारे थोरै जानकारी लिएर आए त्यति गाह्रो हुन्न ।’

त्यसैगरी इपिएसबाट आउने कतिपय पुरुषले कोरियनसँग विवाह गरेर आउने महिलाहरुलाई नराम्रो दृष्टिकोणले हेर्ने गरेकोमा भने उनी दुखेसो पोख्छिन् । ‘कोरियनसँग बिहे गर्ने नेपाली केटीहरुलाई जे भन्दा नि हुन्छ जे गर्दा नि हुन्छ भन्दै हामीलाई हाँसोको पात्र बनाइरहेका हुन्छन् । हाम्रो बेइज्जत गरिरहेका हुन्छन् । के हाम्रो इज्जत छैन र ?’ उनी प्रश्न गर्छिन् । विवाह गरेर आएको भन्दैमा सबैजना बिग्रेका हुँदैनन् । राम्रोसँग बस्ने दिदीबहिनीहरु पनि छन् । त्यसैले उनीहरुको चरित्रमा दाग लगाउने खालको कुरा नगरीदिन पनि उनी आग्रह गर्दै भन्छिन्, ‘जहाँ गए पनि आखिर हामी नेपाली माटोमै हुर्केका हौं । एउटा नेपालीले अर्को नेपालीलाई बदनाम गर्ने वा खुट्टा तान्ने भन्दा पनि एकआपसमा सकारात्मक सोच लिएर माया, सदभाव र इज्जत गर्न सिकौं ।’
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger