अमेरिकी डलरसँग नेपाली मुद्रा अढाई बर्षयतामै अधिक अवमूल्यन...
काठमाण्डौ । अमेरिकी डलरको भाउ तेज गतिमा बढेसँगै नेपाली मुद्रा डलरसँग अवमूल्यन हुने क्रम पनि बढेको छ । अढाई बर्ष यताकै सबैभन्दा बढी नेपाली मुद्रा डलरसँग शुक्रबार अवमूल्यन भएको छ । शुक्रबार राष्टबैंकले अमेरिकी डलर १०७.२३ मा खरीद गरेर १०७. ८३ रुपियाँमा बिक्री गर्न सकिने जनाएको छ । अमेरिकी डलरसँगको यो विनिमय दर अढाई बर्ष यताकै उच्च हो ।
भारतीय बजारमा भारतीय रुपियाँ समेत अमेरिकी डलरसँग अवमूल्यन हुने क्रम जारी छ । त्यहाँका संचारमाध्यमहरुका अनुसार शुक्रबार मात्र भारतीय रुपियाँ डलरसँग ६ पैसाले थप अवमूल्यन भई प्रति डलर विनिमय दर ६७.३५ भारु कायम भएको छ । भारु समेत बिहीबार दुई बर्षकै सबैभन्दा बढी डलरसँग अवमूल्यन भएको थियो । भारतीय रुपियाँसँग नेपाली रुपियाँको विनियम दर स्थिर भएका कारण भारु डलरसँग अवमूल्यन भए लगत्तै त्यसको प्रभाव नेपाली मुद्रामा समेत पर्ने गर्छ ।
अन्तराष्टिय बजारमा तेल निर्यात गर्ने देशहरुले मन्दी भोगिरहँदा डलरको भाउ भने आकाशिएको छ । तेलको मूल्यमा गिरावट आउँदा डलरको मूल्य बढ्ने गर्छ ।
डलर मजबुत हुने क्रम बढेसँगै नेपालजस्तो गरीब मुलुकमा समेत यसको असर पर्नेछ । नेपाली बजारमा डलरसँग नेपाली मुद्रा अवमूल्यन हुने क्रम २०१६ जनवरी १ देखि नै सुरु भएको थियो । सो दिन प्रति डलर नेपाली मुद्राको विनिमय दर १०६ रुपियाँ १८ पैसा कायम भएको थियो । जनवरी, २, ३, ४, ५, ६ र ७ मा विनिमय दर क्रमशः १०६ रु. १८ पैसा, १०६ रु. २८ पैसा, १०६ रु. १२ पैसा, १०६ रु. ७६ पैसा, १०६ रु. ९२ पैसा र १०७ रु. २३ पैसा कायम भएको थियो । त्यसपछि पनि डलरको मूल्य बढ्ने क्रम जारी नै रह्यो । जनवरी ८, ९, १०, ११, १२, १३ र १४ मा प्रति डलर नेपाली विनिमय दर १०७ रु. २७ पैसा, १०७ रु. १३ पैसा, १०७ रु. १३ पैसा, १०६ रु. ९२ पैसा, १०७ रु. ६ पैसा, १०७ रु. ३३ पैसा, १०७ रु. २० पैसा थियो ।
अमेरिकी डलरको विनिमय दर विगत ३ बर्षको अवधिमा निकै धेरै उतारचढाव भएको छ । सन् २०१३ जनवरी १५ मा प्रति अमेरिकी डलरसँग नेपाली रुपियाँको विनिमय दर ८७ रु. ९० पैसा कायम भएको थियो । ठीक एकबर्ष पछि, सन् २०१४ जनवरी १५ मा विनिमय दर ९८ रु. ७४ पैसा पुगेको थियो । त्यसको ठीक एकबर्षपछि अर्थात, सन् २०१५ जनवरी १५ मा अमेरिकी डलरसँग नेपाली मुद्राको विनिमय दर ९९ रु. ८० पैसा कायम भएको थियो । सोही बर्षको जनवरी ७ मा १०२ रु. २ पैसा र जनवरी १ मा १०१ रु. १६ पैसा विनिमय दर कायम भएको थियो ।
डलरको मूल्य बढ्दा के होला ?
अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुँदा यसको प्रत्यक्ष असर नेपालजस्तो वैदेशिक ऋणबाट चलेको राष्टलाई निकै ठूलो हुन्छ । नेपालले विदेशबाट लिएका ऋणहरुको सावा ब्याज भुक्तानी डलरबाटै गर्नुपर्दा विनियोजित बजेटभन्दा बढी रकम व्यहोर्नुपर्ने हुन्छ । डलरमा हुने अन्य सरकारी भुक्तानी समेत प्रभावित हुनेछन् । तर रेमिट्यान्सबाट चलेको देश भएकोले वैदेशिक रोजगारीमा रहेका ३० लाख भन्दा बढी नेपाली चाहि डलरको भाउ बढ्दा लाभान्वित हुनेछन् । अधिकांंश देशमा काम गर्ने नेपाली कामदारले डलरमा भुक्तानी पाउने हुँदा र अन्य मुद्रा समेत डलरबाट प्रभावित हुने हुँदा उनीहरुको पारिश्रमिक नेपालमा आइपुग्दा बढ्नेछ । यसले रेमिट्यान्सको क्षेत्रमा र वैदेशिक रोजगारीमा जाने र उनका परिवारका लागि फाइदा नै हुनेछ ।
लेबल:
Amazing


