Latest Updates :

झटारो: फेरि बन्ने भो सुरूङ मार्ग !

SHARE THIS POST :


पूर्वाधार विकास कम्पनीका नवनियुक्त अध्यक्ष भवन भट्टले एक अन्तर्वार्तामा सबैको सहयोग प्राप्त भएमा चार वर्षमा काठमाडौँ–हेटौँडा सुरुङ मार्ग बन्छ भनेछन् । सहयोग प्राप्त हुने मात्र होइन, सहयोगको वर्षा नै हुनेछ र चार वर्ष पनि नपुग्दै सुरुङ मार्ग बन्छ भन्ने कुरामा भवनजी ढुक्क हुँदा हुन्छ । राष्ट्रिय गौरवका अरू सबै आयोजनाजस्तै यो पनि सम्पन्न हुन्छ । सहयोगका लागि हामी सबै तत्पर छौँ । सरकारदेखि राजनीतिक दलसम्म, नेतादेखि डनसम्म, ठेकेदारदेखि स्थानीयवासीसम्म सबैले यस्ता विकास कार्यमा सहयोग गर्दै आएकै छन् । बरू, छिटो छिटो लगानी ल्याएर काम थालिहाल्नूस् भवनजी ! सहयोग गर्न हामी आतुर छौँ ।

सरकारका तर्फबाट प्राप्त हुने सहयोग सुन्नूस्, सरकारले तपार्इंको फाइल फनफनी घुमाउनमा महत्त्वपूर्ण सहयोग गर्नेछ । नियम, कानुन र प्रक्रियाका पहाडहरूमा चढाएर तपाईंको पसिना निकाल्ने छ । सरकारले पाँच दिनमा सकिने प्रक्रियालाई पाँच महिनामै फत्ते गरेर सहयोग गर्नेछ । बीचमा कदाचित सरकार परिवर्तन भयो भने त्यसले तपाईंको आयोजनालाई जनघाती, राष्ट्रघाती वा यस्तै केके जाति उपाधि दिँदै अलिअलि खनेको सुरुङ पुर्नमा पनि सहयोग गर्न सक्छ । नेताहरू, मन्त्रीहरू, सरकारी अधिकारीहरूले पनि पर्याप्त मात्रामा ‘लाभांश’ प्राप्त गरे भने तपाईंलाई पूरा सहयोग गर्नेछन् ।

अख्तियारलाई पनि इच्छा लाग्यो भने आयोजनाका फाइल तानेर दुई–चार महिना अध्ययन गरेको गरेकै गरेर ठूलै सहयोग पुर्‍याउने सम्भावना छँदैछ । ठेकेदारहरू पनि नेपालमा निकै सहयोगी हुने गरेको इतिहास छ । काम गर्दा गर्दै काम छाडेर नभाग्ने, मालसामान आपूर्ति भएन भनेर क्षतिपूर्ति नमाग्ने सम्भावना पनि केही प्रतिशत हुन सक्छ ।

सर्वसाधारण जनताले पनि पर्याप्त सहयोग गर्ने छन्, खास गरी सडक बन्ने जिल्ला र गाउँका स्थानीयले । उनीहरूले आयोजनाको सेयर माग्नेछन् । रोजगारी माग्नेछन् । चलनचल्तीभन्दा दस गुणा बढी जग्गाको मुआब्जा माग्नेछन् । तपाईंले उनीहरूका अनेकौँ मागमा सहीछाप गर्नुभयो भने सहयोग नपाउने कुरै छैन । बरू, सुरुङ मार्गका बीचबीचमा पर्ने आफ्ना गाउँमा पनि बस स्टपहरू चाहिन्छ भनेर अड्डी कसे भने पो कसो गर्ने ? माग पूरा भएन भने उनीहरू सुराल खोलेरै सडकमा सुतिदिन्छन् । राजनीतिक दलहरूकै नेतृत्व र उक्साहटमा धर्नामा बस्छन्, डोजरमा आगै लगाउन बेर लगाउँदैनन् । मागबमोजिम चन्दा सहयोग गरेपछि स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका डनहरूबाट पनि पूरा सहयोग प्राप्त हुनेछ । कामदारहरू पनि बन्द–हडतालका माध्यमबाट सहयोग जुटाउन पछि पर्ने छैनन् ।

अर्काथरी विकासप्रेमी हातमा क्याल्कुलेटर लिएर निस्कनेछन् र यो सडक बनेपछि मुलुकलाई यति यति नोक्सान हुने सम्भावना भएकाले यो राष्ट्रिय हितविपरीत छ भनेर तपाईंलाई सचेत गराउने छन् । लामा–लामा विश्लेषणात्मक लेख–रचना पत्रपत्रिकामा छपाउने छन्, गोष्ठी गर्ने छन् । यो कुखुराले पछि अन्डा पार्दैन भनेर गोष्ठीमा उनीहरूले तपाईंको कुखुरालाई नै रोस्ट बनाउन सहयोग गर्न पनि सक्ने छन् ।
यसरी चारैतिरबाट सहयोगको ओइरो लागेपछि चार वर्षमा सुरुङ मार्ग किन बन्दैन ? अवश्य बन्छ । मेलम्ची त्यसै गरी बनेको छ । फास्ट ट्रयाक बनेको छ । पूर्व–पश्चिम रेल मार्ग यसै प्रक्रिया अनुरूप बनेको छ । हुलाकी मार्ग बनेको छ । सुरुङ मार्ग मात्रै किन नबन्नू † बन्छ भट्टजी ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger