नाकाबन्दी झेलिरहेको उत्तर कोरियाले पायो सिरियाको साथ,अमेरिकाविरुद्ध गठबन्धन हुनसक्ने-विश्वयुद्धको खतरा
अमेरिकी दबावमा संयुक्त राष्ट्र संघको कडा नाकाबन्दी झेलिरहेको उत्तर कोरियालाई सिरियाले साथ दिएको छ ।
नाकाबन्दी लागु भएपछि कोरियासँग कुटनीतिक सूचना सञ्चार गर्ने पहिलो राष्ट्र सिरिया बनेको छ । कोरियाली राष्ट्रपति किम जोङ अनलाई सिरियाली राष्ट्रपतिले जवाफी सन्देश पठाउँदै कोरियासँग सम्पर्क कायमै रहेको बताएका हुन ।
कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार, सिरियाली राष्ट्रपति बाशार अल–अस्सादले किम जोङलाई पत्र पठाएका छन् । सिरियन अरब रिपब्लिकमा ८ मार्चका दिन भएको क्रान्तिको ५३ औं वर्षगाँठका अवसरमा उत्तर कोरियाले पठाएको शुभकामना सन्देशका लागि आभार व्यक्त गर्दै राष्ट्रपटि बस्सारले जवाफी सन्देश पठाएको एजेन्सीले उल्लेख गरेको छ । “अतिवादी र आतंकवादलाई परास्त गर्न सिरियाली जनताको संघर्षलाई सहयोग गरेकोमा उत्तर कोरियाली राष्ट्रपति, नेतृत्व र जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।” बस्सारले भनेका छन् ।
सिरिया र उत्तर कोरियाबीच यसअघि समेत निकै निकट सम्बन्ध रहँदै आएको छ । आइएसआइएसको चर्को निशानामा परेको सिरियालाई रुसले समर्थन गर्दै आएपनि अमेरिकाले सिरियामा रुसको उपस्थितिको बिरोध गरेको छ । सिरियाले भने गत अगस्तमा आफ्नो एउटा सडकको नाम नै कोरियाली नेता किम इल सुङको नाममा राखेको छ । संयुक्त कार्यक्रमको आयोजना गरेर सिरियाले किम इल सुङप्रति सम्मान व्यक्त गरेको थियो । उक्त अवसरमा सिरियाले उत्तर कोरियालाई सहयोग गर्न समेत अपील गरेको थियो ।
उत्तर कोरिया र सिरियाबीच सम्पर्कको निरन्तरताले अमेरिकाविरुद्ध दुबै देशको एलायन्स बन्न सक्ने सुरक्षा रणनीतिविद्हरुले जनाएका छन् । संयुक्त राष्ट्र संघमा नाकाबन्दीका पक्षमा सहमति जनाउने रुस र चीनले समेत कोरियासँग निकट सम्बन्ध राख्दै आएका छन् । यता अमेरिका र दक्षिण कोरियाले भने संयुक्त सैन्य अभ्यास जारी राखेको विषयमा उत्तर कोरियाले कडा प्रतिक्रिया जनाएको छ । उत्तर कोरियाले आफूसँग कैयन् साना मिसाइलमा अट्न सक्ने परमाणु बम भएको समेत बताएको छ।
सिरिया र उत्तर कोरियाबीचको सम्बन्ध नाटकीयरुपमा अलायन्समा परिणत भएको खण्डमा रुस र चीनलाई समेत यही अलायन्सलाई साथ दिनुपर्ने रणनीतिक बाध्यता देखिन सक्छ । यो अवस्थामा यदि उत्तर कोरियाविरुद्द अमेरिका र सहयोगी सेनाले आक्रमण गरेको खण्डमा विश्वयुद्धको खतरा समेत उत्तिकै छ । तर यसका लागि रुसले सिरियालाई पूर्ण विश्वासमा भने लिनुपर्ने छ ।
लेबल:
Amazing